गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रदेश सरकार सहजीकरण गर्न तयार रहेको बताउनुभएको छ।

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले आयोजना देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने भएकाले निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँध निर्माणमा ४३.५ प्रतिशत, प्याकेज–२ अन्तर्गत विद्युत् गृहमा ६७ प्रतिशत तथा प्याकेज–३ अन्तर्गत प्रसारण लाइनमा ७४ प्रतिशत कार्य सम्पन्न भइसकेको छ। आयोजना विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। जसमा एशियाली विकास बैंक (ADB) १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) १८ करोड ४० लाख, युरोपियन लगानी बैंक ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने व्यवस्था गरिएको छ।

मुख्यमन्त्री पाण्डेले आयोजना निर्माणमा देखा पर्न सक्ने समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया