नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडी (ईभी) को संख्या बढेको छ । भन्सार विभागका अनुसार यस वर्ष चीनतर्फका नाका रसुवागढी र तातोपानी बाढी–पहिरोका कारण लामो समयदेखि अवरुद्ध रहेपछि भारतबाट ईभी आयातमा वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालमा भारतबाट ८५ वटा र चीनबाट ६० वटा गरी कुल १६० वटा चारपांग्रे ईभी भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा चीनबाट आउने गाडी घटेको विभागको तथ्याङ्कले देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा नेपालमा ३८१ वटा ईभी आयात भएका थिए, जसमा चीनबाट २०२ र भारतबाट १७८ वटा मात्र आएका थिए । यस वर्ष चीनतर्फको नाका बन्द भएपछि भारतीय गाडी आयात बढेको नाडा अटोमोबाइल्स एशोसिएशनले जनाएको छ ।
गत असार २४ गते रसुवागढीस्थित लेहेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएपछि सो नाकाबाट हुने व्यापार पूर्णरूपमा अवरुद्ध भएको छ । त्यस्तै, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा खसेको पहिरोका कारण तातोपानी नाका पनि लामो समय ठप्प बनेको थियो, जुन १८ दिनपछि बल्ल सञ्चालनमा आएको छ ।

Online Arthik









