नेपाललाई डिजिटल नोम्याडका लागि विश्वकै आकर्षक गन्तव्यको रुपमा प्रस्तुत गर्ने उद्देश्यले पोखरामा पहिलोपटक ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले साराङसँग सहकार्यमा आयोजना गरेको यस समिट (डिजिटल नोम्याड समिट/बेसक्याम्प नोम्याड) अगस्ट २७ देखि ३१ सम्म सञ्चालन भएको हो ।

समिटलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो पहल नेपाल पर्यटनको नयाँ अध्याय भएको बताएका छन् । उनले भने, ‘आज हामी केवल एक समिट आयोजना गर्दैछौं भन्ने होइन, बरु नेपालले आफूलाई विश्वसामु प्रस्तुत गर्ने नयाँ अध्यायको सुरुवात गरेको छ ।’

हालैका वर्षमा ‘रिमोट वर्क’ र ‘डिजिटल नोमाडिज्म’ को प्रवृत्तिले विश्वव्यापी काम गर्ने ढाँचामा परिवर्तन ल्याएको उल्लेख गर्दै उनले नेपाल यसका लागि आदर्श गन्तव्य बन्न सक्ने बताए । ‘प्राकृतिक सुन्दरता, सांस्कृतिक गहिराइ, मानवीय आतिथ्य र सुरक्षित वातावरणका कारण नेपाल डिजिटल नोम्याडहरूको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ,’ सीईओ जोशीले भने ।

पोखरा आफैंमा विश्व ब्रान्ड बनिसकेको उल्लेख गर्दै उनले शान्त ताल, हिमालको सौन्दर्य र जीवन्त जीवनशैलीलाई प्रविधि–मैत्री संरचना, को–वर्किङ स्पेस र स्वागतयोग्य वातावरणसँग जोड्दा डिजिटल नोम्याडका लागि नेपाल उपयुक्त केन्द्र बन्न सक्ने धारणा राखे ।

यस पहिलो समिटमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल नोम्याड र ४० भन्दा बढी नेपाली सहभागी भएका छन् । यसले नेपाल केवल भ्रमणको गन्तव्य मात्र नभई सिर्जना, सहकार्य र नयाँ अर्थतन्त्रमा योगदान गर्ने थलोको रुपमा स्थापित हुन सक्ने सन्देश दिएको बताइएको छ ।

सीईओ जोशीका अनुसार नेपाल पर्यटनलाई पारम्परिक दायराबाट निकालेर ज्ञान पर्यटन, सिर्जनशील पर्यटन र डिजिटल युगको जीवनशैलीतर्फ अघि बढाउनु बोर्डको लक्ष्य हो । डिजिटल नोम्याडका लागि उपयुक्त वातावरण बनाउन सके नेपाल एशियामै नेतृत्व गर्ने सम्भावना रहेको र यसलाई दीर्घकालीन अभियानका रुपमा अगाडि बढाइने प्रतिबद्धता गरिएको छ ।

तपाईको प्रतिक्रिया