नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण अन्तर्गत १२ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।
पछिल्लो समय राष्ट्र बैंकले बजारमा रहेको तरलता घटाउने उद्देश्यले नियमित रूपमा पैसा झिक्ने नीति अपनाउँदै आएको छ। सोही क्रममा आज पुनः निक्षेप संकलनका माध्यमबाट रकम झिक्ने तयारी गरिएको हो।
राष्ट्र बैंकका अनुसार, अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल प्रक्रिया सुरु हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।
यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी कात्तिक २ गते हुनेछ। राष्ट्र बैंकका अनुसार, यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन योग्य रहनेछन्।

Online Arthik









