देशकै प्रमुख सुन बजार न्यूरोडमा पछिल्ला दिनहरूमा सुन खरिदबिक्रीमा असामान्य अवस्था देखिएको छ। बुधबार न्यूरोड पुगेका अधिकांश ग्राहकहरू सुन किन्न पुगे पनि पसलहरूमा सुन नपाई रित्तै हात फर्किएका छन्। व्यवसायीहरूले स्टक सकिएको भन्दै ग्राहकलाई फर्काइरहेका छन्।

सुन व्यवसायीहरूका अनुसार सुनको मूल्य दैनिक बढ्दै जाँदा उनीहरूले अहिले बिक्री नगरी भविष्यमा अझ बढी मूल्यमा बेच्ने रणनीति अपनाएका छन्। एक व्यवसायीले भने, “सुनको मूल्य हरेक दिन बढ्दैछ, आज बेच्नुभन्दा भोलि पर्सी बेच्दा फाइदा हुन्छ।”

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यका अनुसार बजारमा वास्तविक रूपमा पनि सुन र चाँदी दुवैको अभाव देखिएको छ। सरकारले दैनिक २० किलो मात्र सुन आयातको अनुमति दिने हुँदा मागअनुसार आपूर्ति गर्न नसकिएको उनले बताए।

शाक्यका अनुसार अमेरिकी अर्थतन्त्र कमजोर हुँदै गएर डलर अवमूल्यन हुँदा विश्वभर सुनको मूल्य बढेको हो। बैंकहरूले सुरक्षित लगानीका लागि सुन खरिद बढाउँदै गएका कारण पनि मूल्यमा निरन्तर वृद्धि भएको बताइन्छ।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिय रत्न शाक्यका अनुसार अत्यधिक मूल्यवृद्धिका कारण साना लगानीकर्ताहरू बजारबाट हट्दै गएका छन्, जसले सुन अभाव थप बढाएको छ।

विश्लेषकहरूले सन् २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस ५ हजार डलरसम्म पुग्ने अनुमान गरेका छन्। नेपालमा पनि सुनको मूल्य छिट्टै ३ लाख रुपैयाँ नाघ्ने सम्भावना व्यक्त गरिएको छ।

दशैं-तिहार र विवाह सिजन नजिकिँदै जाँदा माग अत्यधिक बढेको छ। तर सुनको अभाव र उच्च मूल्यका कारण व्यवसायीहरूले जर्ती समेत मनलाग्दी असुल्न थालेका छन्, जसले बजारमा थप असन्तुलन ल्याएको छ।

तपाईको प्रतिक्रिया