मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले मर्जर (गाभ्ने–गाभिने) प्रक्रियामा जाने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले कुनै उपयुक्त बैंक वा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने निर्णय गरेको हो।
यसका लागि बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समिति तथा मर्जर समितिलाई आवश्यक अख्तियारी प्रदान गर्नेछ। साथै, मर्जर प्रक्रियामा चल–अचल सम्पत्ति, दायित्व र कारोबार मूल्याङ्कनका लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, उनको पारिश्रमिक निर्धारण गर्ने लगायत कार्यसम्पादनको जिम्मेवारी पनि समितिलाई दिइनेछ।
बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशत अर्थात् करसहित १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।
त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको १ लाख रुपैयाँभन्दा बढी खर्च स्वीकृत गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत हुनेछन्।
लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, कात्तिक २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी भई लाभांश पाउने पात्र हुनेछन्।

Online Arthik









