कुमारी बैंक लिमिटेडले दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्‍याउने उद्देश्यका साथ ‘ग्रीन सेभिङ डिपोजिट अकाउन्ट’ नामक नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीमार्फत दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यो योजना ‘एक खाता, एक रुख’ सिद्धान्तमा आधारित छ। यस अन्तर्गत खोलिने प्रत्येक खाताका लागि बैंकले आफ्नै तर्फबाट एक रुख रोप्नेछ, जसले प्रत्येक निक्षेपकर्ताको वातावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष सहभागिता सुनिश्चित गर्नेछ।

बैंकका अनुसार, यस खातामार्फत ग्राहकहरूले साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर, रु. १ लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, र रु. २ लाखसम्मको फोनलोन सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले यस योजनाबाट संकलित निक्षेपलाई दिगो विकास प्रवर्द्धन गर्ने तथा वातावरणमा सकरात्मक प्रभाव पार्ने क्षेत्रमा कर्जा प्रवाह गर्ने जनाएको छ।

बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार, “हरेक खाता बापत एक रुख रोपिने भएकाले यस अभियानले वातावरण संरक्षणमा दोहोरो योगदान पुर्‍याउनेछ।” कुमारी बैंकले हाल देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया