बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको हो।

लाभांश अनुमोदनका लागि कम्पनीले २२औँ वार्षिक साधारण सभा यही मंसिर २६ गते बिहान ९:३० बजे काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा लाभांश प्रस्ताव पारित गर्नुका साथै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।

साधारण सभामा आव २०८१/८२ का लागि सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै लेखापरीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय कागजातहरू अनुमोदन गरिनेछ। आगामी आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा सञ्चालक समितिमा भएका परिवर्तनहरू अनुमोदन गर्ने एजेन्डा पनि सभामा रहनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई नामसारी भएका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया