नेपाल राष्ट्र बैंकले आइतबार ८४ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि दीर्घकालीन निक्षेप संकलन उपकरणमार्फत तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि निक्षेप खिच्न लागेको हो। अहिले वित्तीय प्रणालीमा कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ, र तरलता तथा ब्याजदर व्यवस्थापनका लागि बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन सक्छन्। काउन्टर पार्टीहरूले प्रस्ताव गर्ने ब्याजदरमध्ये सबैभन्दा कम ब्याजदर बोल्ने संस्थाबाट सुरु गरी आह्वान गरिएको ५० अर्ब रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। अनलाइन खरिद प्रणालीमार्फत गरिने बोलकबोलबाटै ब्याजदर निर्धारण हुनेछ, र यसका सावाँ तथा ब्याज २०८३ फागुन ५ गते भुक्तानी हुने छ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमलाई ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी सीमित हुनेछ। खुला बजार कारोबार कार्यविधिअनुसार दीर्घकालीन तरलता व्यवस्थापनका लागि अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने प्रावधानलाई आधार मानेर राष्ट्र बैंकले पछिल्ला दिनहरूमा यस्तो उपकरण बारम्बार प्रयोग गर्दै आएको छ।

Online Arthik









