बागमती नदी करिडोरलाई सुरक्षित, उज्यालो र व्यवस्थित बनाउन गोकर्णदेखि बल्खुसम्मका नदी किनारमा स्मार्ट सडक बत्ति र अत्याधुनिक सिसिटिभी सिस्टम जडान गरिने भएको छ। शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बढ्दो फोहोर व्यवस्थापन समस्या, अनधिकृत गतिविधि तथा सुरक्षासम्बन्धी चुनौती नियन्त्रण गर्न सिसिटिभी सर्भिल्यान्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ प्रणाली जडानको प्रक्रिया अघि बढाएको छ। यसका लागि निर्माण व्यवसायी छनोट गर्न टेण्डर आह्वान भइसकेको छ। योजनाअनुसार १२० थान पानी, धुलो र तापक्रम प्रतिरोधी अत्याधुनिक क्यामेरा जडान गरिनेछ, जसको मोनिटरिङ युनिट काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयमा रहनेछ। साथै ५६७ थान स्मार्ट सडक बत्ति, ४८ थान फ्लडलाइट र ६ थान हाइमास्ट फ्लडलाइट स्थापना गरिनेछ, जसले रात्रीकालीन उज्यालो व्यवस्था बलियो बनाउनेछ। यस कार्यले बागमती सरसफाइ महाअभियानलाई थप प्रभावकारी बनाउने, अपराध तथा अव्यवस्थित गतिविधि नियन्त्रणमा सहयोग पुर्‍याउने र समग्र वातावरण सुरक्षित तथा व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया