वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउने उद्देश्यले सोमबार काठमाडौं र ललितपुरका विभिन्न ९ वटा उद्योग तथा फर्ममा कारवाही गरेको छ। विगतमा चाडपर्वको समयमा मात्र अनुगमन भएको भन्दै आलोचना हुने गरेपछि विभागले पछिल्ला दिनमा स्थानीय प्रशासन तथा सरोकारवाला निकायको समन्वयमा देशव्यापी निरीक्षणलाई तीव्र पारेको छ।
विभागका अनुसार ललितपुर महानगरपालिका–१५, कुमरीपाटीस्थित यूएफओ पाटन र काठमाडौं महानगरपालिका–१५, चमतीस्थित रेग्मी ब्याग उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ। बिल–बिजक अनिवार्य रूपमा राख्नुपर्ने कानुनी व्यवस्था उल्लंघन गरेको आधारमा कारवाही गरिएको विभागले जनाएको छ।
सोही ऐनको दफा ३९(१) अनुसार बजार अनुगमन तथा जाँचबुझ गर्दा तत्काल प्राप्त प्रमाणका आधारमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ। सोही प्रावधानअनुसार योगेन्द्र साडी भण्डारलाई समेत कारवाही गरिएको विभागले उल्लेख गरेको छ।
यससँगै, मानसरोवर इन्टरप्राइजेज र रविशंकर स्टोरलाई आवश्यक सम्बद्ध कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन सूचित गरिएको छ। अन्य पाँच फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले उपभोक्ताको हकहित संरक्षण र बजार शुद्धिकरणका लागि आगामी दिनहरूमा पनि नियमित र कडाइका साथ अनुगमन जारी रहने जानकारी दिएको छ।

Online Arthik










