रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले गत मंसिर २२ देखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा कुल १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो।
उक्त आईपीओमा ३५ हजार १०२ जनाले कुल १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सबै आवेदन स्वीकृत भए पनि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा (लटरी) प्रक्रियामार्फत सेयर बाँडफाँट गरिएको हो।
बाँडफाँटअनुसार प्रारम्भिक रूपमा २ हजार ३११ जना आवेदकले न्यूनतम ५० कित्ता सेयर प्राप्त गरेका छन्। यसपछि बाँकी ४६ कित्ता सेयर समानुपातिक रूपमा थप एक कित्ताका दरले बाँडफाँट गरिँदा २ हजार ३११ जना आवेदकमध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

Online Arthik










