सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’मा मागभन्दा बढी आवेदन परेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी पुस ४ गतेदेखि १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको १ अर्ब रुपैयाँ आकारको यस योजनामा प्रारम्भिक विवरणअनुसार सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ। यो रकम तोकिएको लक्ष्यभन्दा करिब २५ प्रतिशत बढी हो।
सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार ‘सिटिजन्स सन्तुलित योजना’ बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्ड योजनामध्ये एक बन्न सफल भएको छ। योजनाप्रति देखिएको लगानीकर्ताको आकर्षण र उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटललाई नेपालको पूँजी बजारमा दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाका रूपमा स्थापित गराएको प्रतिबिम्बित हुने कम्पनीको भनाइ छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।
कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार सेवा तथा संस्थागत परामर्श सेवासहित पूँजी बजारसम्बन्धी विविध सेवा प्रदान गर्दै आएको जनाएको छ।
आगामी दिनमा पारदर्शिता, सुशासन तथा लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री र लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ। साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोष सञ्चालन गर्ने र हाल सञ्चालनमा रहेका योजनाबाट उच्च प्रतिफल दिलाउने लक्ष्यका साथ काम गरिरहेको कम्पनीले जनाएको छ।

Online Arthik










