सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता रु. १०० अंकित दरका २० लाख कित्ता साधारण सेयर, कुल रु. २० करोड बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् रु. १५ करोड ५० लाख बराबरको १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ । यसमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानिय बासिन्दाका लागि तथा बाँकी ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

यसैगरी, जारी पूँजीको १० प्रतिशत अर्थात् रु. १५ करोड ५० लाख बराबरको १५ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पनि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन् ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि भने आईपीओ निष्कासन छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गते बन्द हुनेछ ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक तथा प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर निष्कासन गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

तपाईको प्रतिक्रिया