सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यसअघि माघ २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको भए पनि मागभन्दा बढी आवेदन प्राप्त भएकाले समयअगावै आईपीओ बिक्री बन्द गर्न लागिएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँबराबरको १५ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लम्जुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाका लागि तथा बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखा कार्यालयमार्फत दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।

Online Arthik










