सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यस चरणमा कुल ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर जारी गर्न लागेको हो।
कम्पनीले कुल निष्कासनमध्ये सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीहरूका लागि १३ हजार ७९३ कित्ता सेयर छुट्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री आवेदन छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते बन्द हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको थियो।
उक्त अनुमति अनुसार पहिलो चरणमा पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरिसकेको कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो।

Online Arthik









