युरोपेली संसदले जुलाईमा सम्पन्न एक महत्वपूर्ण अमेरिकी व्यापार सम्झौताको अनुमोदन प्रक्रिया निलम्बन गरेको छ। यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई संयुक्त राज्य अमेरिकामा समावेश गर्ने प्रस्ताव अघि सारेपछि विरोधस्वरूप चालिएको हो।
निर्णय बुधबार फ्रान्सको स्ट्रासबर्गमा घोषणा भएको थियो, त्यही समयमा राष्ट्रपति ट्रम्प स्विट्जरल्याण्डको दावोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गरिरहेका थिए।
विश्लेषकहरूका अनुसार ग्रीनल्यान्डलाई लिएर ट्रम्प प्रशासनको पहलपछि अमेरिका र युरोपबीच व्यापारसम्बन्धी तनाव चुलिएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा अस्थिरता बढाएको र व्यापार युद्धको सम्भावना बढाएको छ। यससँगै युरोपेली संघले अमेरिकाविरुद्ध जवाफी कदम चाल्ने आशंका पनि बढेको थियो।
तर केही घण्टापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ग्रीनल्यान्डको भविष्यसम्बन्धी मसौदा सहमतिमा पुगेको दाबी गर्दै नेटोका आठ सदस्य राष्ट्रमाथि नयाँ ट्यारिफ लगाउने निर्णय कार्यान्वयन नगर्ने बताएका छन्।

Online Arthik









