एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै पोखरामा भोलि शुक्रवारदेखि आयोजना हुन गइरहेको छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।
टाइगर कप विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतिष्ठित भलिबल प्रतियोगिता हो। गत वर्षझैँ यस वर्ष पनि मुख्य प्रायोजकका रूपमा एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको हो।
एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले टाइगर कपसँगको सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउने बताए। उनले भने, “यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्याउनुका साथै स्थानीय स्तरमा रहेका युवाहरूलाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।” खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्चका रूपमा रहेको यो प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले खेलकुद क्षेत्रमा निरन्तर सहकार्य गरेकोमा एनसेलप्रति आभार व्यक्त गर्दै भने, “यस्ता सहकार्य, सहयोग र योगदानकै कारण टाइगर कप देशकै सबैभन्दा ठुलो भलिबल प्रतियोगितामध्ये एक बन्न सफल भएको छ।”छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली गरी कुल ११ टोली सहभागी छन्। महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स सहभागी छन्। पुरुष तर्फ गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्सका टोलीहरू प्रतिस्पर्धामा छन्।
प्रतियोगितामा विजेता बन्ने महिला तथा पुरुष दुवै तर्फका टोलीले समान रूपमा प्रथम पुरस्कार रु ६,६६,६६६, दोस्रो पुरस्कार रु ३,६६,६६६ र तृतीय पुरस्कार रु २,०६,६६६ प्राप्त गर्नेछन्।

Online Arthik









