प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता भएका उम्मेदवारहरूले आज शुक्रवार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न वितरण गरिनेछ।निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत माघ ७ गते उम्मेदवारी दाबी–विरोधमा उजुरी दिने समय निर्धारण गरिएको थियो। सो अवधिमा प्राप्त उजुरीहरूमाथि जाँचबुझ गरी उम्मेदवारको प्रारम्भिक नामावली यसअघि नै प्रकाशन भइसकेको आयोगले जानकारी दिएको छ।आयोगले सबै निर्वाचन प्रक्रिया समयमै सम्पन्न गर्दै चुनावी वातावरणलाई व्यवस्थित र मर्यादित बनाउने तयारी तीव्र पारेको जनाएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३,४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३,०८९ जना पुरुष, ३९६ जना महिला तथा एक जना अन्य उम्मेदवार रहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट २७५ सदस्यीय संघीय संसद् गठन हुनेछ। जसमध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत निर्वाचित हुनेछन्।

Online Arthik









