जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आउने भएको छ। सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पाणु पौडेलका अनुसार उक्त स्टोर यही माघ २८ गतेदेखि सञ्चालनमा आउनेछ।

स्टोर पुनः सञ्चालनको पूर्वसन्ध्यामा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार बिहान आगलागीबाट क्षति पुगेको स्टोर परिसरमा पूजाआजा गरेका छन्। यसअघि पनि राजावादी आन्दोलनका क्रममा उक्त स्टोरमा लुटपाट तथा तोडफोड हुँदा क्षति पुगेको थियो, तर तोडफोड भएको भोलिपल्ट नै स्टोर सञ्चालनमा ल्याइएको थियो।

कोटेश्वरको स्टोरसँगै करिब दुई हप्तापछि महाराजगञ्जस्थित भाटभटेनी स्टोर पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको सीओओ पौडेलले जानकारी दिए। उनका अनुसार जेनजी आन्दोलनका क्रममा क्षति पुगेका अन्य स्टोरहरूको पुनःनिर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ। यसअघि आन्दोलनको तीन महिनापछि बालुवाटारस्थित मुख्य गोदाम सञ्चालनमा ल्याइसकिएको थियो।भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर रहेका भाटभटेनीका २८ स्टोरमध्ये २१ वटा स्टोरमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए। घटनामा भाटभटेनीका २१ वटा स्टोरमा गरी कुल १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक भएको थियो। तीमध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्ण रूपमा आगजनी भएका थिए भने बाँकी ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले १२ वटा स्टोर पूर्णरूपमा जलाइएको र ९ वटा स्टोरमा आंशिक क्षति पुर्‍याइएको जानकारी गराएका थिए। उनले भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई बिदा नगर्ने र दशैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने योजना रहेको बताएका थिए।प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफू आधा सम्पत्ति दिन तयार रहेको प्रतिबद्धता पटक–पटक जनाउँदा पनि भाटभटेनीलाई नै ‘टार्गेट’ गरिएको गुनासो गरेका थिए।

क्षतिको विवरणअनुसार, पूर्ण र आंशिक क्षति भएका १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। साथै, ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्ण रूपमा जलेका छन् भने ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड तथा लुटपाट गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया