भिडिओ मार्केटिङ तथा क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिल (Vell) ले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सीईओ दीलिप ढकालले उक्त घोषणा गरेका हुन्।
भिलको नेपाल प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई विश्वव्यापी मापदण्डसँग जोड्ने र नेपालको डिजिटल अर्थतन्त्रमा नयाँ कोसेढुङ्गो स्थापित गर्ने अपेक्षा गरिएको छ। अमेरिकी बजारमा स्थापित भइसकेको यस प्लेटफर्मले अब नेपाली व्यवसायीहरूलाई पनि ‘अथेन्टिक’ भिडिओ सामग्रीमार्फत आफ्नो बजार विस्तार गर्न सहयोग गर्नेछ।
कार्यक्रममा बोल्दै सीईओ दीलिप ढकालले आधुनिक क्रिएटर इकोनोमी केवल कन्टेन्ट निर्माणमा सीमित नरही जीविकोपार्जन, विश्वास र मापनयोग्य प्रणालीसँग जोडिएको विषय भएको बताए। उनले नेपालमा प्रशस्त सिर्जनशील प्रतिभा रहेको उल्लेख गर्दै पाइलट प्रोजेक्टले क्रिएटरहरूलाई आफ्नो सीपबाट आम्दानी गर्न र ब्रान्डहरूलाई प्रमाणित क्रिएटरहरूसँग सहकार्य गर्न सहज बनाउने बताए।
अमेरिकी दूतावासको पहलमा आयोजित उक्त क्रिएटर मेलाले नेपाली क्रिएटरहरूलाई नयाँ विचार, सीप विकास र सहकार्यका अवसर प्रदान गरेको जनाइएको छ। परियोजनाको मुख्य उद्देश्य नेपालको बढ्दो क्रिएटर इकोनोमीलाई सहयोग पुर्याउनु र ब्रान्ड तथा क्रिएटरबीचको सम्बन्धलाई प्रभावकारी बनाउनु हो।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार हाल विश्वभर क्रिएटर इकोनोमीको मूल्य २५० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ भने नेपालमा यो क्षेत्र करिब ३ देखि ४ करोड अमेरिकी डलर बराबरको रहेको अनुमान गरिएको छ। नेपाली क्रिएटरहरूले वार्षिक रूपमा २ करोड ५० लाख डलरभन्दा बढी आम्दानी गरिरहेको तथ्याङ्कले यस क्षेत्रको ठूलो सम्भावना देखाउँछ।
छलफलमा सान फ्रान्सिस्कोकी यूजीसी क्रिएटर भ्यारोनिका कामाचोले क्रिएटरहरूले भोगिरहेका चुनौतीहरू—जस्तै स्पष्ट कार्यक्षेत्रको अभाव, भुक्तानीमा ढिलाइ र मानक प्रक्रियाको कमी—बारे चर्चा गरिन्। साथै, क्रिएटरहरूलाई दिगो आम्दानीका लागि स्टोरी टेलिङ, प्रभावकारी सञ्चार र ब्रान्डसँग काम गर्दा अपनाउनुपर्ने व्यावसायिक मापदण्ड विकास गर्न सुझाव दिइएको थियो।

Online Arthik










