सुपरमाई हाईड्रोपावर लिमिटेडले लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित ११औँ साधारण सभा डाकेको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा आह्वान गर्ने निर्णय गरेको हो।
सभा आगामी फागुन १७ गते काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
यसका साथै कम्पनीको चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन, पूँजी संरचना परिवर्तन तथा यस विषयमा नियमनकारी निकायबाट आवश्यक संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेका छन्। आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा समावेश गरिएको छ।

Online Arthik










