श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आफ्नो वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको अपष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा २०९ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ५० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको हो। नाफा वृद्धिमा अन्य आम्दानीको पनि योगदान रहेको छ, जसअनुसार समीक्षा अवधिमा कम्पनीले ३७ लाख ८३ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ।
यद्यपि कम्पनीको वित्त खर्च भने बढेको छ। अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाँ रहेको वित्त खर्च चालु आवमा बढेर ३ करोड २८ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको रिजर्भमा भने मजबुती देखिएको छ। अघिल्लो वर्ष १ करोड ९ लाख रुपैयाँ रहेको रिजर्भ चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा बढेर १७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कुल चालु दायित्व ३७ करोड ६१ लाख रुपैयाँ कायम भएको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६२ रुपैयाँ, तरलता अनुपात ३.६७ र आरओई ०.८७ प्रतिशत रहेको छ।

Online Arthik









