माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४.५८ प्रतिशतले वृद्धि भई ९१ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो आम्दानी ७९ करोड ८१ लाख रुपैयाँ थियो। कम्पनीले ४२ मेगावाट क्षमताको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ। यस अवधिमा कम्पनीको खुद नाफा पनि ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५१ करोड २० लाख रुपैयाँ रहेको थियो। कम्पनीले बीमा दाबीबापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ भने संचालन मुनाफा ६४ करोड ९६ लाख रुपैयाँ कायम भएको छ। ब्याज खर्च १२ करोड ४० लाखबाट घटेर ११ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ र कर अघिको नाफा ५५ करोड ५८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने रिजर्भमा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ६० करोड रुपैयाँको चुक्ता पुँजी २० प्रतिशत बोनस सेयर वितरणपछि बढेको हो। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७.३४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४२.६८ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया