सुजल डेरी प्रालि (लक्ष्मी ग्रुपअन्तर्गत) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ। कम्पनीको आम्दानी विगत केही वर्षदेखि निरन्तर वृद्धि हुँदै आएको छ ; आव २०८१/८२ मा २ अर्ब ८८ करोड ३० लाख, आव २०८०/८१ मा २ अर्ब ३३ करोड १० लाख, आव २०७९/८० मा १ अर्ब ८६ करोड ९० लाख, आव २०७८/७९ मा १ अर्ब ७१ करोड ६० लाख र आव २०७७/७८ मा १ अर्ब २१ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो। विसं २०६२ (सन् २००५) मा स्थापना भएको कम्पनीले स्ट्यान्डर्ड दूध, फुल क्रीम दूध, दही, आइसक्रिम, स्किम्ड मिल्क पाउडर, बटर, घिउ, पनीर तथा फुल क्रीम मिल्क पाउडर उत्पादन गर्दै आएको छ, जसमा दूध तथा मुख्य दुग्धजन्य उत्पादनहरूले कुल आम्दानीको करिब दुई तिहाइ हिस्सा ओगटेका छन् भने बाँकी आम्दानी पनीर, घिउ, स्किम्ड मिल्क पाउडर र बटरबाट आउने गरेको छ। कम्पनीका उत्पादनहरू ‘सफल’ र ‘लभ बड्र्स’ ब्रान्डमार्फत बिक्री वितरण भइरहेका छन् र यसको दर्ता कार्यालय तथा उत्पादन इकाई पोखरा–१, कास्की, गण्डकी प्रदेशमा रहेको छ।
कम्पनीका प्रमुख सेयरधनीहरूमा अध्यक्ष गणेश बहादुर श्रेष्ठसहित सुनील श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ र निराकर श्रेष्ठ रहेका छन्, जसले प्रत्येकले करिब १८ प्रतिशत सेयर धारण गरेका छन् भने बाँकी करिब १० प्रतिशत सेयर सुजल फुड प्रालि का नाममा रहेको छ। कम्पनीका अनुसार जुलाई २०२५ सम्म ड्रइङ पावर करिब १४१ प्रतिशत उपयोग गरिएको छ। पछिल्ला तीन वर्षमा नेपालमा दूध उत्पादन वृद्धिदर ०.४ प्रतिशतदेखि १.८ प्रतिशतसम्म सीमित रहेकाले दूध संकलनमा तीव्र प्रतिस्पर्धा देखिएको छ। उच्च प्रतिस्पर्धा, प्रमुख उत्पादनमा मूल्य समायोजनको सीमित क्षमता तथा लागत वृद्धिका कारण नाफामा दबाब परेको छ भने कृषि–जलवायु जोखिमले दूध आपूर्तिमा समस्या ल्याई कच्चा दूधको मूल्य बढ्ने जोखिम पनि रहेको जनाएको छ। यद्यपि २० वर्षभन्दा बढी अनुभव, किसान तथा सहकारीहरूसँगको बलियो सम्बन्ध र पछिल्ला दुई वर्षमा देखिएको उल्लेखनीय आम्दानी वृद्धिले कम्पनीलाई मजबुती प्रदान गरेको तथा घरेलु उपभोक्ता र खाद्य प्रशोधन उद्योगबाट स्थिर माग रहनु सकारात्मक पक्ष रहेको कम्पनीको भनाइ छ। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६० करोड ६६ लाख रुपैयाँ दीर्घकालीन र ३४ करोड ९५ लाख रुपैयाँ अल्पकालीन गरी कुल ९५ करोड ६१ लाख रुपैयाँ ऋण लिएको छ, जबकि यसअघि ६५ करोड १२ लाख रुपैयाँ दीर्घकालीन र २४ करोड ९५ लाख रुपैयाँ अल्पकालीन गरी कुल ९० करोड ७ लाख रुपैयाँ ऋण लिएको थियो।

Online Arthik









