हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सफा रहने जनाइएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यसैगरी, आज राति पनि तराईका केही स्थानमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा बदली रहनेछ भने मधेस प्रदेश र अन्य पहाडी भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराई क्षेत्रमा हुस्सु तथा उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले यातायात, कृषि तथा दैनिक गतिविधिमा संलग्न सबैलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया