जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा एआई प्रविधिबाट सिर्जित तस्बिर, भिडियो तथा अन्य सामग्री सार्वजनिक गरी भ्रम नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। परिसरका अनुसार हाल विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक फोटो, भिडियो र एआईबाट तयार पारिएका श्रव्यदृश्य सामग्रीहरू प्रसारित भइरहेको विषयमा आफूहरू जानकार छन्।
नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा एक पैदलयात्रीमाथि हातपात गरेको घटनामा संलग्न सवारी चालकविरुद्ध कानुनबमोजिम अनुसन्धान भइरहेको परिसरले जनाएको छ। अनुसन्धानको क्रममा रहेको विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण नगर्न प्रहरीको आग्रह छ। परिसरका प्रवक्ता पवनकुमार भट्टराईले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवारी र सार्वजनिक जवाफदेहिताको भावना राख्नुपर्ने बताए। तथ्य पुष्टि नभएका सामग्री साझा गर्दा समाजमा भ्रम सिर्जना हुन सक्ने भएकाले सचेत रहन उनले सबैमा अपिल गरेका छन्।
मंगलबार उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न पारस बमलाई पक्राउ गरेको जनाएको छ। भिडियोमा चालकले गाडीबाट ओर्लिएर पैदलयात्रीलाई मुक्का प्रहार गरेको तथा उनीसँगै एक महिलाले समेत पैदलयात्रीमाथि कराएको दृश्य देखिएको छ।

Online Arthik









