सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालाजु प्रहरी परिसरको भवन निर्माणका लागि आवश्यक निर्माण सामग्री सहयोग गरेको छ। एक औपचारिक कार्यक्रममा कम्पनीले करिब १० लाख रुपैयाँ बराबरको निर्माण सामग्री हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली तथा आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थिति रहेको थियो। त्यसैगरी, बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिका अध्यक्ष शिवभक्त रञ्जित, कोषाध्यक्ष बेदप्रसाद पौडेल र प्रहरी नायब उपरीक्षक यललाल बन्जाडे लगायतको सहभागिता रहेको थियो। कम्पनीले सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने प्रहरी परिसरको भौतिक पूर्वाधार सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै सहयोग प्रदान गरिएको जनाएको छ। कम्पनीका प्रतिनिधिहरूले वित्तीय सुरक्षासँगै संस्थागत सुदृढीकरणमार्फत सामाजिक सुरक्षा मजबुत बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। बालाजु प्रहरी कार्यालयका प्रमुखले बीमा क्षेत्रबाट प्राप्त सहयोगले सेवा प्रवाह थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै समुदाय र निजी क्षेत्रबीचको सहकार्य दीर्घकालीन रूपमा सकारात्मक हुने धारणा राखे।

सन नेपाल लाइफले बीमा व्यवसायसँगै स्वास्थ्य, शिक्षा तथा सामुदायिक पूर्वाधारका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।

तपाईको प्रतिक्रिया