सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो। साथै नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
भेटका क्रममा शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहेको सहयोगलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ। मन्त्री पोखरेल र राजदूत फेनबीच नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिज्म स्कुलका लागि सहकार्य, शिक्षकको पेशागत क्षमता विकासलगायत विषयमा पनि परामर्श भएको थियो। भेटमा नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार र शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे। साथै अटिज्म स्कुलका लागि स्रोत र जनशक्ति विकासमा आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे।
राजदूत फेनले नेपालको शिक्षा, खेलकुद तथा अन्य क्षेत्रमा विगतदेखि भइरहेको सहकार्यलाई निरन्तरता दिन बेलायत सरकार प्रतिबद्ध रहेको बताएका थिए। सो भेटमा दुई देशबीचको आपसी हित र बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा समझदारी बनेको छ। साथै शिक्षकको क्षमता विकासमा सहकार्य गर्ने र ट्रान्सनेशनल एजुकेशनको सम्भावनाबारे पनि छलफल गरिएको छ।

Online Arthik










