कैलालीको लम्कीचुहा–३ मा निर्माणाधीन जालपादेवी केबलकार प्रा.लि. परियोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ। सन् २०२६ फेब्रुअरी मध्यसम्म केबलकार खण्डमा करिब ४६ प्रतिशत वित्तीय प्रगति भएको भए पनि प्रस्तावित पाँचतारे रिसोर्टको निर्माण भने अझै सुरु हुन सकेको छैन।

कुल करिब ४ अर्ब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना ७५:२५ ऋण–इक्विटी संरचनामा अघि बढाइएको छ। हालसम्म करिब ५४ प्रतिशत इक्विटी संकलन भएको छ भने ऋण व्यवस्थापन करिब २४ प्रतिशतमा सीमित रहेको कम्पनीले जनाएको छ। बाँकी वित्तीय स्रोत जुटाउने प्रक्रिया जारी छ।केबलकार खण्डको लागत करिब २ अर्ब ७५ करोड रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ भने प्रस्तावित १०० कोठे पाँचतारे होटलको लागत करिब १ अर्ब २८ करोड रुपैयाँ अनुमान गरिएको छ। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब १२ करोड ४२ लाख रुपैयाँ ऋण लिइसकेको छ।कम्पनीले केबलकार सेवा सन् २०२६ जुलाई मध्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ भने होटल परियोजना मध्यम अवधिमा निर्माण गर्ने योजना छ। तर समयमै काम सम्पन्न नभए लागत वृद्धि, निर्माण अवधिको थप ब्याज तथा सामग्री मूल्य वृद्धिका कारण वित्तीय दबाब बढ्न सक्ने कम्पनीले जनाएको छ। परियोजना स्थलमा रहेको जालपादेवी मन्दिरलाई प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै, चिसापानीस्थित कर्णाली पुल नजिकको अवस्थाले पर्यटक आवागमन बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सन् २०१८ अप्रिलमा स्थापना भएको कम्पनीमा चन्द्र प्रसाद ढकाल र हेमराज ढकाल प्रमुख लगानीकर्ता रहेका छन्। परियोजना सम्पन्न भएपछि सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया