चर्चित टिकटकर तुलसा (तुलसी) अधिकारीलाई ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरी थाइल्यान्डबाट नेपाल ल्याइएको छ। रेड नोटिसका आधारमा पक्राउ परेकी अधिकारी हाल ललितपुर प्रहरीको हिरासतमा रहेकी छन्।
ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले चार महिनाअघि दायर गरेको अभियोगअनुसार उनीमाथि हनी ट्र्याप शैलीमा करोडौँ रुपैयाँ ठगी गरेको आरोप छ। पीडित शंकर चिमोरियाको जाहेरीका आधारमा अधिकारीविरुद्ध ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण गरी पाँच कसुरमा मुद्दा दायर गरिएको हो।अभियोगपत्रअनुसार २०७५ सालदेखि चिनजानका क्रममा बनेको सम्बन्धलाई आधार बनाएर व्यक्तिगत सम्बन्धपछि ‘जबरजस्ती करणी’ मुद्दा हाल्ने धम्की दिँदै रकम असुल गरिएको दाबी गरिएको छ। अनुसन्धान प्रतिवेदनमा विभिन्न बहानामा पटक–पटक गरी ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम असुल गरिएको उल्लेख छ।
प्रहरीका अनुसार उक्त रकम घर, पसल, गहना, गाडी, शैक्षिक खर्चदेखि विदेशमा समेत पठाइएको देखिएको छ। साथै, तुलसी अधिकारीले उक्त रकम विभिन्न बैंक खाता, लगानी तथा सम्पत्ति खरिदमार्फत व्यवस्थापन गरेको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा करिब २१ करोड रुपैयाँभन्दा बढीको कारोबार ‘प्लेसमेन्ट, लेयरिङ र इन्टिग्रेसन’ प्रक्रियामार्फत विभिन्न खातामा सारिएको भन्दै ठूलो बिगो कायम गरिएको छ।यस प्रकरणमा नेलिका लामिछानेसहित अन्य केही व्यक्तिको संलग्नता रहेको अभियोगपत्रमा उल्लेख भए पनि केही प्रतिवादी धरौटीमा छुटेका छन् भने केही फरार रहेका छन्। पीडित शंकर चिमोरियाले २०७५ सालदेखि सुरु भएको व्यक्तिगत सम्बन्धपछि धम्की र दबाबमार्फत निरन्तर रकम असुली गरिएको भन्दै उजुरी दिएका थिए। सोही आधारमा प्रहरी अनुसन्धानपछि मुद्दा अदालत पुगेको हो।
हाल तुलसा अधिकारी ललितपुर प्रहरीको हिरासतमा रहेकी छन् र मुद्दाको कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।

Online Arthik










