हिमालयन बैंक लिमिटेड र यूनियनपे इन्टरनेसनल बीचको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी (RMB) कार्ड सेवा सञ्चालनमा आएको छ। बैंकका अनुसार चीन भ्रमण गर्ने नेपाली ग्राहकलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो, जसले चीनमा हुने वित्तीय कारोबारलाई अझ सहज, सुरक्षित र सुलभ बनाउने अपेक्षा गरिएको छ।
उक्त कार्ड प्रयोग गरी ग्राहकहरूले चीनमा एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममार्फत हुने भुक्तानी सीधै चिनियाँ मुद्रा (सीएनवाई) मा गर्न सक्नेछन्। बैंकका अनुसार यसले अन्य भुक्तानी माध्यमको तुलनामा बढी मितव्ययी तथा व्यापक रूपमा स्वीकार्य भुक्तानी विकल्प प्रदान गर्नेछ।विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले स्वीकृत गरेको सीमाभित्रको रकम कार्डमा लोड गरी युनियनपे नेटवर्कअन्तर्गत रहेका अलि पे +, उइ च्याट तथा निहाओ चीन जस्ता क्यूआर प्रणालीमार्फत सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।नक्सालस्थितकाठमाडौं म्यारियट होटलमा आयोजित कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणा तथा यूनियनपे इन्टरनेसनलका उपाध्यक्ष झुआंग बेई ले संयुक्त रूपमा उक्त कार्ड सेवाको शुभारम्भ गरेका थिए।
बैंकले यस सेवाले चीन भ्रमण गर्ने नेपालीहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा सहजता ल्याउनुका साथै डिजिटल कारोबार विस्तार र सीमा–पार वित्तीय सेवाको पहुँच वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

Online Arthik










