कजारिया रमेश टाइल्स लिमिटेड ले सञ्चालनमा आएको करिब डेढ वर्षमै ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ र गत आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ आम्दानी भएको छ। यसअनुसार १८ महिनामा कुल आम्दानी ३ अर्ब २ करोड रुपैयाँ पुगेको हो।
कम्पनीले उत्पादन सुरु भएयता आम्दानी र नाफा मार्जिन दुवै सन्तोषजनक रूपमा वृद्धि भइरहेको जनाएको छ। यस अवधिमा सञ्चालन नाफा मार्जिन करिब १८.३ प्रतिशत रहेको छ, जुन प्रारम्भिक सञ्चालन चरणका लागि सकारात्मक मानिएको छ। नवलपरासीको बर्दघाटमा रहेको कम्पनीको प्लान्टले २०२४ सेप्टेम्बर ७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। जनवरी २०२३ मा स्थापना भएको यो कम्पनी भारतको कजारिया सिरामिक्स लिमिटेडर नेपालको रमेश कर्पोरेशन बीच ५०–५० प्रतिशत साझेदारीमा स्थापित संयुक्त उद्योग हो।उद्योगको वार्षिक उत्पादन क्षमता ५ करोड ४९ लाख वर्गफुट रहेको छ, जसमा ग्लेज्ड भिट्रिफाइड तथा भित्ते टाइल उत्पादन समावेश छ। कम्पनीले उत्पादन गर्ने सबै टाइल ‘कजारिया’ ब्रान्ड नामबाट नेपाली बजारमा बिक्री भइरहेको छ।
कजारिया सिरामिक्स भारतमा लामो समयदेखि सिरेमिक टाइल उत्पादन गर्दै आएको स्थापित कम्पनी हो, जसको प्राविधिक दक्षता र ब्रान्ड अनुभवले नेपालमा सञ्चालन दक्षता बढाएको कम्पनीको दाबी छ। साथै, पहिले नै स्थापित डिलर सञ्जाल र रमेश कर्प समूहको वितरण क्षमताले बजार विस्तारमा सहयोग पुगेको बताइएको छ।सरकारी नीतिअनुसार स्वदेशी उद्योगलाई संरक्षण गर्ने उद्देश्यले तयारी टाइलमा उच्च भन्सार कायम गरिएको छ भने कच्चा पदार्थमा कम दर राखिएको छ, जसले स्थानीय उत्पादनलाई प्रतिस्पर्धात्मक बनाएको कम्पनीको भनाइ छ। तर पछिल्लो समय स्वदेशमै टाइल उद्योगहरूको संख्या बढ्दै जाँदा प्रतिस्पर्धा तीव्र बनेको र मूल्य दबाब बढिरहेको कम्पनीले उल्लेख गरेको छ। साथै, निर्माण तथा रियल इस्टेट क्षेत्रको सुस्तता र नीतिगत परिवर्तनको सम्भावनाले भविष्यमा माग र नाफामा असर पार्न सक्ने जोखिम पनि रहेको कम्पनीको भनाइ छ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढी ऋण लिएको समेत जनाएको छ।

Online Arthik










