सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रदीप सिग्देल (शर्मा)को अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाबसहित वार्षिक प्रतिवेदन तथा अन्य विभिन्न प्रस्तावहरू पारित गरेको छ। सभामा सेयरधनीहरूले उठाएका जिज्ञासा, सुझाव र सल्लाहबारे अध्यक्ष शर्माले स्पष्ट पारेका थिए। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष कृष्णबहादुर थापाले अनुभवी कर्मचारीलाई संस्थामा टिकाइराख्ने रणनीति बनाउनुपर्ने तथा हालको परिस्थितिअनुसार संस्थालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। साथै, लगातार दुई वर्षदेखि लाभांश नपाएका सेयरधनीलाई चालु आर्थिक वर्षमा केही प्रतिशत लाभांश उपलब्ध गराउने दिशामा काम गर्न सुझाव दिए। साधारणसभामा १३५ जना सेयरधनीको सहभागिता रहेको थियो, जसले कुल सेयरको ५२.२२ प्रतिशत अर्थात् ३६ लाख ६० हजार २२ कित्ता सेयरको प्रतिनिधित्व गरेका थिए। संस्थाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४५ जिल्लामा १५५ शाखा कार्यालयमार्फत सेवा विस्तार गर्दै १ लाख ८३ हजारभन्दा बढी विपन्न परिवारसम्म पहुँच पुर्याएको जनाएको छ। साथै, संस्थाले हालसम्म २ अर्ब ९८ करोड रुपैयाँ बचत संकलन गरेको छ भने कुल कर्जा लगानी १० अर्ब ७० करोड रुपैयाँ पुगेको जानकारी दिएको छ।

Online Arthik










