सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ बीच सहकार्य भएको छ, जसअन्तर्गत कर्पोरेट ग्राहकहरूले अब विभिन्न बैंकिङ सेवा सञ्चालनका लागि छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। सहकार्यपछि ‘र्यापिड’ प्लेटफर्मलाई बैंकको प्रणालीमा एकीकृत गरिएको छ, जसले बैंकिङ एज ए सर्भिस (BaaS) मोडेलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ। यससँगै ग्राहकहरूले आफ्नै ERP वा सफ्टवेयरमार्फत एउटै प्लेटफर्मबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी तथा तलब वितरणजस्ता सेवा सञ्चालन गर्न सक्नेछन्। सेवा प्रयोगका लागि ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत खाता लिंक गरी एक पटक मात्र फाराम भरेपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ। ‘र्यापिड’ले कन्सेन्ट प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको तथा एन्ड–टु–एन्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन र अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकोले डिजिटल कारोबार सुरक्षित हुने विश्वास लिइएको छ। बैंकले यस पहलमार्फत साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया