खल्तीले एससीटीसँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ। खल्ती कार्ड्स इकोसिस्टमअन्तर्गत ल्याइएको यो पहिलो कार्ड सेवामार्फत प्रयोगकर्ताले कुनै फिजिकल कार्ड बिना नै मोबाइलबाट सुरक्षित रूपमा ई–कमर्स कारोबार गर्न सक्नेछन्। कार्ड प्रयोग गर्दा खल्ती वालेटमा रहेको रकमबाट भुक्तानी हुनेछ भने वालेटमा पर्याप्त मौज्दात नभएमा लिङ्क गरिएको प्राथमिक बैंक खाताबाट स्वतः रकम कट्टा हुने सुविधा पनि उपलब्ध हुनेछ। सेवा सुरु भएको अवसरमा ग्राहकले पहिलो तीन महिनासम्म निःशुल्क कार्ड प्रयोग गर्न पाउनेछन्। साथै कार्ड एक्टिभ गरेपछि १ हजार रुपैयाँ दामी पोइन्ट्स, १ हजार २ सय रुपैयाँसम्म क्यासब्याक तथा प्रत्येक ई–कमर्स कारोबारमा ०.७५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। प्रयोगकर्ताले एपमार्फत एक मिनेटभन्दा कम समयमा कार्ड एक्टिभ गरी दराज, एयरलाइन्स टिकटिङ, होटल तथा ट्राभल बुकिङ, फुड डेलिभरीलगायत भिसा स्वीकार गर्ने सबै अनलाइन सेवामा तत्काल प्रयोग गर्न सक्नेछन्।

Online Arthik










