समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको ललितपुरस्थित जग्गा लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ।
समितिका अनुसार ललितपुरको साविक झरुवारासी–५ख स्थित कित्ता नम्बर ३९९ को १४ आना ३ पैसा क्षेत्रफलको जग्गा बिक्रीमा राखिएको हो। उक्त जग्गाको प्रति आना न्यूनतम् मूल्य ४ लाख रुपैयाँ तोकिएको छ भने कुल न्यूनतम् मूल्य ५१ लाख रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि सहकारी ऐन, २०७४ बमोजिम संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनको जिम्मेवारी समितिले लिएको थियो। समितिका अनुसार ऋणी सदस्य, सञ्चालक तथा अन्य दायित्व भएका पक्षलाई साँवा, ब्याज, हर्जाना र जरिवाना बुझाउन पटक–पटक सूचना जारी गरिए पनि दायित्व फरफारक नगरेपछि सम्पत्ति लिलाम प्रक्रिया अघि बढाइएको हो।

Online Arthik










