भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध भएको नुवाकोटका विभिन्न क्षेत्रको विद्युत् आपूर्ति वैकल्पिक प्रसारण लाइन प्रयोग गरी पुनः सञ्चालनमा ल्याइएको छ। नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन जोडेर खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा विद्युत् सेवा सुचारु गरेको जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ। यस्तै, बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीबाट चार्ज गर्ने तयारीसमेत भइरहेको छ। आवश्यक प्राविधिक काम सम्पन्न गरेर यी लाइन पनि सञ्चालनमा ल्याउने र प्रभावित क्षेत्रमा विद्युत् सेवा नियमित बनाउने प्रयास भइरहेको उनले बताए। त्रिशूली क्षेत्रका केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनबाट वैकल्पिक रूपमा विद्युत् आपूर्ति गर्ने व्यवस्था गरिएको छ। बाढीका कारण नियमित प्रसारण संरचनामा क्षति पुगेपछि तत्कालका लागि वैकल्पिक स्रोतबाट विद्युत् सेवा सञ्चालन गर्ने रणनीति प्राधिकरणले अपनाएको हो।प्रभावित क्षेत्रमा विद्युत् सेवा छिटो पुनःस्थापना गर्न काठमाडौं तथा आसपासबाट प्राविधिक टोली, उपकरण र आवश्यक स्रोतसाधनसहित कर्मचारी परिचालन गरिएको छ। टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणले जनाएको छ।यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यसँगै विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न निर्देशन दिएका थिए। सोहीअनुसार प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

प्राधिकरणले बाढीबाट क्षति पुगेका संरचनाको निरन्तर मूल्याङ्कन गर्दै सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीबाट विद्युत् आपूर्ति दिने र संरचनाको मर्मत सम्पन्न भएपछि नियमित प्रणालीमा फर्काउने काम अघि बढिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया