बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा कर्जा प्रवाह बढे पनि त्यसअनुसार आर्थिक गतिविधिमा सुधार आउन नसकेको देखिएको छ। गत आर्थिक वर्ष न्यून आर्थिक गतिविधि तथा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार भए पनि बैंकिङ प्रणालीमा संकलित निक्षेपको तुलनामा कर्जा लगानी सीमित रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशत अर्थात् ३ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँले बढेर ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँले बढेको थियो।२०८३ असार मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो।गत आर्थिक वर्ष वाणिज्य बैंकबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशत, विकास बैंकको ७ प्रतिशत र वित्त कम्पनीको कर्जा ५.४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानीमध्ये घरजग्गा धितोमा प्रवाह भएको कर्जाको हिस्सा ६२.९ प्रतिशत रहेको छ भने चालु सम्पत्ति सुरक्षणमा आधारित कर्जाको हिस्सा १५.१ प्रतिशत छ। अघिल्लो वर्ष यी हिस्सा क्रमशः ६४.७ प्रतिशत र १४.५ प्रतिशत थियो। क्षेत्रगत रूपमा हेर्दा निर्माण क्षेत्रमा प्रवाहित कर्जा १८.६ प्रतिशत, उपभोग्य क्षेत्रमा १७.८ प्रतिशत तथा यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १५ प्रतिशतले बढेको छ। त्यस्तै औद्योगिक उत्पादनतर्फको कर्जा ५.२ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा ५ प्रतिशत र सेवा उद्योगतर्फको कर्जा ४.४ प्रतिशतले वृद्धि भएको छ। कृषि क्षेत्रमा भने कर्जा प्रवाह १.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
कर्जाको प्रकारअनुसार ट्रस्ट रिसिट कर्जा ३२.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १८.३ प्रतिशत, हायर पर्चेज कर्जा ११.१ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ७.३ प्रतिशत, रियल इस्टेट कर्जा ६.९ प्रतिशत, अधिविकर्ष कर्जा ५.२ प्रतिशत र आवधिक कर्जा ४.३ प्रतिशतले बढेको छ। क्यास क्रेडिट कर्जा भने १.८ प्रतिशतले घटेको छ।

Online Arthik










