नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला भारतले उद्धार तथा राहत कार्यका लागि अत्याधुनिक उपकरणसहित विशेषज्ञ टोली नेपाल पठाएको छ। बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा मानिसहरू बेपत्ता भएपछि भारतले विशेष ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ नेपाल पठाएको हो।
भारतका विदेशमन्त्री एस. जयशंकरका अनुसार सुरुङ प्राविधिक टोलीसँग सुरुङभित्र फसेका तथा बेपत्ता व्यक्तिको खोजी र उद्धारका लागि आवश्यक विशेष उपकरण रहेका छन्। कठिन भौगोलिक अवस्थाका कारण चुनौतीपूर्ण बनेको उद्धार कार्यमा उक्त टोलीले प्राविधिक सहयोग गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, बाढीपहिरोपछि फेला परेका शवको पहिचानका लागि भारतले डीएनए विश्लेषणसम्बन्धी फोरेन्सिक विशेषज्ञ टोली र आवश्यक उपकरणसमेत नेपाल पठाएको छ। नेपालमा हालसम्म ७३४ शव फेला परेको र तीमध्ये धेरैको पहिचान हुन बाँकी रहेको अवस्थामा भारतीय फोरेन्सिक टोलीको सहयोगले मृतकको पहिचान तथा परिवारलाई शव हस्तान्तरण गर्ने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।बाढीपहिरोका कारण प्रमुख राजमार्गका पुलहरू ध्वस्त भई यातायात अवरुद्ध भइरहेका बेला भारतले सडक पूर्वाधार पुनःस्थापनाका लागि समेत सहयोग अघि बढाएको छ। भारतबाट २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका लागि आवश्यक सामग्री बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्। उक्त सामग्री प्रयोग गरी क्षतिग्रस्त क्षेत्रमा अस्थायी पुल निर्माण गरेर यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
यसैगरी, थप सातवटा बेली ब्रिज स्थापनाका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत छिट्टै नेपाल पठाइने जनाइएको छ।

Online Arthik










