भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यलाई सहज बनाउन नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यासको आपूर्तिलाई तीव्रता दिएको छ। निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि सञ्चालन भइरहेको उद्धार अभियानका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराएको जनाएको छ।

उद्धारमा संलग्न हेलिकप्टरको सहज उडानका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युइलिङको व्यवस्था गरिएको निगमले जनाएको छ। जसअनुसार भदौ १० गते १२ हजार, ११ गते १० हजार ८४०, १२ गते ९ हजार र १३ गते ९ हजार लिटर गरी कुल ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइएको हो।

यसैगरी, प्रभावित क्षेत्रमा सवारीसाधन तथा उद्धारमा प्रयोग हुने उपकरणको आवागमन सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल वितरण गरिएको छ। सार्वजनिक बिदाका दिनमा समेत मागअनुसार इन्धनको नियमित बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

खोज तथा उद्धारपछि विभिन्न सेल्टरमा आश्रय लिइरहेका बाढी प्रभावितका लागि खाना पकाउने एलपी ग्यासको समेत व्यवस्था गरिएको छ। नेपाल ग्यास उद्योग बालाजुको सहयोगमा नुवाकोटमा २३२ थान तथा एलपी ग्यास उद्योग संघमार्फत नुवाकोट र रसुवाका लागि थप १५० थान भरिएका सिलिन्डर राहतस्वरूप पठाइएको छ।

विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै निगमले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया