नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कलसहित दैनिक २ जीबी डाटा र ५० एसएमएस सुविधा उपलब्ध गराइएकोमा अब उक्त सुविधा थप समयका लागि निरन्तरता दिइएको हो।
कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न अनुरोध गरेको छ। बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न कम्पनीका प्राविधिक टोली निरन्तर परिचालित भइरहेका छन्।
कम्पनीका अनुसार अधिकांश क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचनालाई समेत चाँडै सुचारु गर्न प्राविधिक टोली खटिरहेका छन्। विपद्को यस कठिन परिस्थितिमा नेपाल टेलिकमको निःशुल्क सेवामार्फत सेवाग्राहीलाई आफन्त तथा परिवारजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

Online Arthik









