रसुवामा आएको भीषण बाढीपछि चिलिमे जलविद्युत कम्पनीका ६ कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढी आएको ६ दिनसम्म पनि कर्मचारीको अवस्थाबारे जानकारी नआएपछि कम्पनीले खोज तथा उद्धारका लागि सरकारी निकायसँग तत्काल सहयोग मागेको छ।

कम्पनीले ऊर्जा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरणलगायतका निकायलाई पत्र पठाउँदै उद्धारसँगै प्रभावित क्षेत्रमा सञ्चार, सडक तथा विद्युत् पूर्वाधार पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेको हो। बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकास्थित २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको पावरहाउससहितका संरचनामा ठूलो क्षति पुगेको छ। त्यस्तै, रसुवागढी हाइड्रोपावरअन्तर्गतको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ।आयोजना क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क विच्छेद भएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। कम्पनीले आफ्नै तर्फबाट उद्धार तथा पुनर्स्थापनाका लागि प्रयास गरिरहेको भए पनि प्रभावित क्षेत्रमा तत्काल सरकारी समन्वय र सहयोग आवश्यक रहेको जनाएको छ।

कम्पनीले सम्पर्कविहीन कर्मचारीको शीघ्र खोजी तथा उद्धार, सञ्चार सम्पर्क पुनःस्थापना र क्षतिग्रस्त सडक तथा विद्युत् पूर्वाधार मर्मतलाई प्राथमिकतामा राखेर सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया