सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ९२.५२ प्रतिशत अर्थात् १ः०.९२५२ अनुपातमा ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो।
कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ रहेको छ। यसअघि कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको थियो। तर, आयोगले बैंकको कर्जा भुक्तानी गर्ने प्रयोजनका लागि मात्रै सेयर निष्कासन गर्न स्वीकृति दिएको हो। कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकममध्ये ५१ करोड ४० लाख रुपैयाँ नबिल बैंकको कर्जा भुक्तानीमा र बाँकी ४ करोड ८० लाख रुपैयाँ मेसिनरी उपकरणको मर्मतसम्भारमा खर्च गर्ने प्रस्ताव गरेको थियो। तर, मर्मतसम्भारका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति नदिने अभ्यासअनुसार आयोगले कर्जा भुक्तानीका लागि आवश्यक रकममा मात्रै स्वीकृति दिएको जनाएको छ।आयोगले सेयर निष्कासनबाट प्राप्त रकम नबिल बैंकको कर्जा भुक्तानीमा प्रयोग गरी १५ दिनभित्र प्रमाणित कागजातसहित जानकारी गराउन कम्पनीलाई निर्देशन दिएको छ। साथै, आवश्यक अन्य निकायको सहमति लिनुपर्ने भएमा सो प्रक्रिया पूरा गर्नुपर्ने सर्त राखिएको छ।आयोगको निर्देशनअनुसार कम्पनीले पहिलो चरणमा संस्थापक सेयरधनीका लागि हकप्रद सेयर निष्कासन गर्नुपर्नेछ। संस्थापक सेयरधनीले रकम चुक्ता गरे–नगरेको विवरण सार्वजनिक गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ।
इलाम जिल्लामा ७.८ मेगावाट क्षमताको सुपरमाई जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले हकप्रद सेयर निष्कासनका लागि अब नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायको प्रक्रिया पूरा गर्नुपर्नेछ।

Online Arthik









