मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङलाई जोड्ने मालढुंगा पुल आजदेखि सञ्चालनमा आएको छ। कालीगण्डकी नदीमा आएको बाढीले पुलको पहुँचमार्गमा क्षति पुर्‍याएपछि अवरुद्ध भएको आवागमन मर्मतसम्भारपछि पुनः सञ्चालनमा ल्याइएको हो।

गत असोज ११ गते आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्गमा कटान गरेपछि सवारी आवागमन प्रभावित भएको थियो। क्षतिग्रस्त क्षेत्रमा ग्याबियन जाली लगाउने र माटो भर्ने काम सम्पन्न भएपछि आज बिहानदेखि पुल सञ्चालनमा ल्याइएको हो। पुल सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएको सवारी आवागमन पुनः सुरु भएको छ। सवारीसाधन गन्तव्यतर्फ जान थालेपछि चाडपर्वका बेला यात्रा गर्ने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ।मालढुंगा पुल सञ्चालनमा नआउँदा यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए। उनीहरूले बागलुङ–पर्वत जोड्ने गण्डकी गोल्डेन झोलुंगे पुल तथा कुश्माका अन्य झोलुंगे पुलबाट पैदल कालीगण्डकी नदी पार गरी पर्वततर्फ पुगेर अर्को सवारीसाधन चढ्नुपर्ने अवस्था थियो।

पुल पुनः सञ्चालनमा आएसँगै मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधनलाई राहत मिल्ने भएको छ।

तपाईको प्रतिक्रिया