माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि समान दरमा लाभांश वितरण गरेको थियो। यससँगै कम्पनीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशत बढी हो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ५२ पैसा कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा २० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पुँजी बढाउँदासमेत कम्पनीले प्रतिसेयर आम्दानी २५ रुपैयाँभन्दा माथि कायम राख्न सफल भएको हो। कम्पनीले प्रस्तावित लाभांश पारित गर्न कात्तिक २० गते शुक्रबार भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा बोलाएको छ। सभामा वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र पाँच जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेस गरिनेछ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। माउण्टेन इनर्जीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित लाभांश वितरण गर्दै आएको छ। कम्पनीले उक्त आर्थिक वर्षमा १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यसपटक पनि समान दरमा लाभांश प्रस्ताव गरेको हो। कम्पनीले ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला र ५ मेगावाट क्षमताको ताँदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ। यसैगरी, सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालिमार्फत मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। १२ अर्ब ८९ करोड रुपैयाँ कुल लागत रहेको आयोजनाको वित्तीय व्यवस्थापन गत साउनमा सम्पन्न भएको थियो। आयोजनामा एनएमबी बैंक र सानिमा बैंकले १० अर्ब १ करोड रुपैयाँ लगानी गर्नेछन् भने बाँकी रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ। निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ।

Online Arthik










