बुढीगण्डकी र स्यार खोलामा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् प्रणालीको मर्मत तथा पुनःस्थापनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीव्रता दिएको छ। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढी प्रभावित धार्चे गाउँपालिकाबाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ। खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत् लाइनमा पूर्ण क्षति पुगेकाले सेवा पुनःस्थापनामा कठिनाइ भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणको आरुघाट वितरण केन्द्रले धार्चेमा समेत मर्मत तथा पुनःस्थापनाको काम सुरु गरेको जनाएको छ। यसअघि भीमसेन थापा गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा करिब १० घण्टामै विद्युत् सेवा सुचारु गरिएको थियो। मन्त्रालयले बाढी प्रभावित सबै क्षेत्रमा यसै साताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखेको छ। बाढीले गोरखा र धादिङका विद्युत् वितरण प्रणालीसँगै बुढीगण्डकी तथा टाइम्स इनर्जीको ३४१ मेगावाट, दोभान खोलाको २४.५ मेगावाट, यारु खोलाको ३०.५९ मेगावाट र माछा खोलाको १६ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। गोरखाको धार्चेमा ७० भन्दा बढी उच्च भोल्टेजका पोल तथा सोती, आर्खेत र आरुघाट बजारका वितरण लाइनका पोल क्षतिग्रस्त भएका छन्। त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजारमा न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया