राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेको आरोपबारे पार्टी र राज्यका निकायले गर्ने जुनसुकै छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्। एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सुनारले मंगलबार भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्दै आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट मात्र नभई सांसद पदबाट समेत निलम्बित हुन तयार रहेको बताएका छन्। ‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु। राज्यले वा पार्टीले गर्ने सबै खालका छानबिनमा सघाउँछु,’ उनले भनेका छन्, ‘केन्द्रीय समितिबाट निलम्बन हुनुपर्ने हो भने पनि तयार छु, सांसदबाट निलम्बन हुनुपर्ने हो भने पनि तयार छु।’ यसअघि अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाउँदै आन्तरिक छानबिन अघि बढाएको थियो। बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनारले भने आफूमाथि सार्वजनिक गरिएको अडियो बनावटी भएको दाबी गरेका छन्। उनले प्रहरी संगठनभित्रको भ्रष्टाचारबारे प्रश्न उठाएकै कारण आफूलाई लगातार निशाना बनाइएको आरोपसमेत लगाएका छन्। पार्टीको कामका सिलसिलामा दाङमा रहेका सुनारले आफूले कुनै कानुनी अपराध गरेको प्रमाणित भए तत्काल कारबाही भोग्न तयार रहेको बताएका छन्। ‘मैले कानुनको आँखामा कुनै अपराध गरेको छु भने यही दाङबाट हतकडी लगाएर लैजान पनि मलाई कुनै आपत्ति छैन,’ उनले भनेका छन्। अडियो प्रकरणपछि पार्टीले छानबिन प्रक्रिया अघि बढाइरहेका बेला सुनारले सार्वजनिक रूपमा आफू जवाफदेही बन्न तयार रहेको बताएका हुन्।

Online Arthik










