सरकारले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्दै गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्यसहित ठूलो लगानीको योजना अघि सारेको छ । यसअन्तर्गत देशभरका १०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार विकास गरिने भएको छ ।

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत र उत्कृष्ट नतिजा हासिल गर्दै आएका विद्यालयलाई छनोट गरी सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो । चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ । निकासा भएको बजेटबाट विद्यालयमा १२ कोठा भएको तीनतले आधुनिक भवन निर्माण गरिनेछ ।करिब ६ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रत्येक भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ । नयाँ पूर्वाधारले विद्यार्थीलाई अनुकूल सिकाइ वातावरण उपलब्ध गराउनुका साथै विद्यालयको शैक्षिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु सकारात्मक भए पनि कतिपय विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु चुनौतीपूर्ण रहेको बताए । विद्यालयहरूबीच देखिएको यही असमानता कम गर्न सरकारले विद्यार्थीको चाप बढी भएका ठूला विद्यालयबाट पूर्वाधार सुधारको अभियान सुरु गरेको उनको भनाइ छ ।‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ । विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने ।

सरकारले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक संरचनालाई समान रूपमा विकास गर्दै विद्यालयहरूबीचको अन्तर घटाउने लक्ष्य लिएको मन्त्री पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया