टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ५ गते समाप्त हुने जनाएको छ ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिएको उक्त सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो । लकइन अवधि सकिएपछि प्रचलित नियमअनुसार ती सेयर कारोबारका लागि योग्य हुनेछन् । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता सेयर छुट्याएर बाँडफाँट गरिएको थियो ।व्यवस्थाअनुसार सर्वसाधारणलाई सेयर बाँडफाँट भएको मितिले छ महिनासम्म सामूहिक लगानी कोषको स्वामित्वमा रहेका सेयर लकइनमा राख्नुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार लकइनमा रहेका सेयरको अवधि मंसिर ५ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।
यसअघि सामूहिक लगानी कोषका दुईवटा योजना परिपक्व भइसकेकाले तिनको स्वामित्वमा रहेका २ हजार ५०१ कित्ता सेयर भने लकइन अवधि पूरा हुनुअघि नै फुकुवा गरिएको कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

Online Arthik










